काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सहयोगमा एकपछि अर्को प्रतिगामी कदम चालेको बताएका छन्। राष्ट्रियसभा सोमबारको बैठकमा श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेका कारण अहिले प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबीचबाट देश गुज्रिराखेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप पनि श्रेष्ठले लगाएका छन्। विदेशीसँग मिलेमतोमा प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको श्रेष्ठको दाबी छ। ‘विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ,’ श्रेष्ठले भने, ‘उहाँले राष्ट्रिय स्वाधिनतामा गम्भीर धोकाधडी गर्नुभयो।’
अहिले प्रतिगमन पूर्णरुपमा परास्त नभएको भन्दै श्रेष्ठले हरहालतमा परास्त गर्ने दाबी गरे। ‘हामीले एकपटक प्रतिनिधिसभा विघटनको कदमलाई असफल बनायौं। तर प्रतिगामी कदम पूर्णरुपमा असफल हुन सकेन। अहिले पनि प्रतिगामी कदम फेरी प्रतिनिधिसभा विघटन-२ अन्तर्गत चालिएको छ। र, हामीले त्यसलाई पूरा परास्त गर्न सकेका छैनौं,’ श्रेष्ठले भने, ‘अर्कोतिर प्रतिगमन पनि आफ्नो योजना अनुसार सम्पूर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर प्रतिगामी निरंकुश राजनीतिक प्रणाली स्थापित गर्ने उत्कर्ष विन्दुमा पुगिसकेको छैन। म चेतावनी दिन चाहन्छु, त्यो कहिले पुग्नेपनि छैन। त्यस्तो सपना कसैले नदेखेपनि हुन्छ।’



लोकपाटी न्यूज

