काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ सकिन लागेको छ। अब निवेदक पक्षको जवाफी बहस र एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस बाँकी छ। निवेदक पक्षको जवाफी बहस आइतवारदेखि सुरु भइसकेको छ। ३ घण्टामा ४ जना बोल्ने तय भएकोमा आइतबार पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले आफ्नो बहस सकाएका छन्।
निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ। अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ।
जवाफी बहसको निर्धारित समयमा आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा लिएका थिए भने सोमबार बाँकी समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाललले विपक्षी र इजलासले उठाइएका प्रश्नको जवाफ दिनेछन्। आइतबार मुद्दासँग सम्बन्धित गम्भीर संवैधानिक प्रश्न सोधे पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले राजनीतिक भाषणबाजी गरेर समय बिताएका थिए।
सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ। स्रोतका अनुसार सोमबार निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला सार्वजनिक हुने संभावना धेरै रहेको छ।
असार ९ गतेदेखि निरन्तर हुँदै आएको सुनुवाइमा संवैधानिक इजलासले विनेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा, जवाफी बहसका लागि थप तीन घण्टा, विपक्षीलाई १५ घण्टा र एमिकस क्यूरीका लागि दुई घण्टा समय निर्धारण गरेको थियो। निवेदकले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष बुझाएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन्।



लोकपाटी न्यूज

