काठमाडौं। बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीद गर्ने असार २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएका छन्। जुन मागभन्दा ६२ दशमलव ५२ गुणा बढी आवेदन हो।
सर्वसाधारणमा विक्री गर्न लागेको कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागेको हो। असार २१ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा असार ३१ गतेसम्म आईपीओ विक्री गर्ने मिति तय गरिएको थियो। यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आज (सोमवार) बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ।
यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
हाल कम्पनीको चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ। संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो। आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ कायम हुनेछ। गत आर्थिक वर्ष ०७६/७७ सम्ममा २ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ रहेको छ।



लोकपाटी न्यूज
