तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाकाे सरकारलाई ध्यानाकर्षण

prakanda-1
फाइल फोटो
लोकपाटी न्यूज

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफुहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सहमति कर्यान्वयनका लागि ध्यानाकर्षण गराइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

उनकाअनुसार प्रधानमन्त्री ओलीले पनि तीन बुँदे कार्यान्वयनमा आफू गम्भीर रहेको बताएका थिए। प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता विश्वकर्मासहित सचिवालय सदस्य धमेन्द्र बास्तोलासमेत बालुवाटार पुगेका थिए भने सरकारको तर्फबाट तत्कालीन वार्ता टोलीका संयोजक रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए।

डेढ घण्टा भएको छलफलमा आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको विश्वकर्माले जानकारी दिए। ‘हामीले १० दिनभित्र बन्दी कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताक काम टुंग्याउनुपर्छ भनेका छौं’, प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रवक्ता विश्वकर्माले भने, ‘हामीले सहमति कायान्वयनमा ढिलाइ भएको बारे अवगत गरायौँ। उहाले गम्भीर नै छु भन्नु भयो। अब कडाइका साथ १० दिनमा सहमति कार्यान्वयनका लागि राजनीतिक र संवैधानिक पहल गर्न भनेका छौं। त्यसका लागि प्रधानमन्त्रीले आफू गम्भीर रहेको र पहल गर्ने जवाफ दिनु भएको छ।’

उनले सरकार आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विश्वस्त रहेको बताए। अन्यथा जनताले दण्डित गर्नेसमेत उनले चेतावनी दिए। ‘सरकारले सहमति कार्यान्वय गर्नेमा हामी विश्वस्त छौं,’ सहमति कार्यान्वयन भएन भने के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी फेरि पनि विश्वस्त छौं । जहासम्म गरेन भने भन्ने प्रश्न प्रश्न छ, त्यसमा त गरेन भने जनताले दण्डित गर्छ नि त।’

फरक प्रशंगमा उनले अहिलेका संसदवादी पार्टी ‘हड्डीको निम्ति कुकुरको लडाइँ’ गरिरहेको टिप्पणी गरे। उनीहरूको लडाइँमा आफूहरूलाई कुनै मतलब नभएको भन्दै उनले भने, ‘हड्डीको निम्ति कुकुरको लडाइँ भैरहेको छ संसदवादी दलहरू एमाले, कांग्रेस र माओवादीबीच। उहाहरूको लडाइँमा हामी किन प्रवेश गर्ने ?’ गत वर्ष २१ फागुनमा चन्द नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो। त्यसपछि सरकारले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरे पनि अझै. सय बढी नेता कार्यकर्ता हिरासतमै छन् भने सयौ.माथि लगाइएको मुद्दा समेत फिर्ता लिइएको छैन।

नेता कार्याकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि नेकपाले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ।यसअघि पनि स्वयं महासचिव चन्दले समेत प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए।