बन्दी रिहा गर्न प्रधानमन्त्री ओलीलाई विप्लवको १० दिने अल्टिमेटम

Biplap
लोकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा नेकपा नेताहरूले पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न जोड दिएका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला लगायतका नेताहरू आइतबार बालुवाटारमा पुगेका थिए। भेटमा उनीहरूले आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन आग्रह गरेको छन्।

प्रधानमन्त्री ओलीले मुद्दा फिर्ता लिने र कार्यकर्ता रिहा गर्ने काम प्रक्रियामै रहेको बताएका थिए। ‘प्रधानमन्त्रीले बन्दी रिहा र मुद्दा फिर्ताका लागि गम्भीर रहेको बताउनुभयो। हामीले १० दिनभित्र यी काम टुंग्याउनुपर्छ भनेका छौं,’ नेकपा प्रवक्ता विश्वकर्माले भने।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो। तीन बुँदे सहमतिको महत्त्वपूर्ण बुँदा नेकपाका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्तामा सरकार गम्भीर नबनेको नेकपा नेताहरूको आरोप छ।

विश्वकर्माका अनुसार अहिले १ सय ३० बन्दी जेलमा छन्। उत्तिकै मुद्दा फिर्ता लिने काम बाँकी छ। सचिवालय सदस्य हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्य भरत बम र चुडामणिा ओलीसहितका नेताहरू विभिन्न कारागारमा छन्। ‘हामीले कम्तीमा १० दिन भित्र परिणाम आउनु पर्छ भन्ने हिसाबले प्रधानमन्त्रीसँग कुरा गरेका छौं,’ नेता विश्वकर्माले भने।