काठमाडौं। असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम मौका रहेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो।
कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो। ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो।
१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ।
यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो। यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।



लोकपाटी न्यूज
