काठमाडौं। संसद विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका वकिलको बहस आज हुँदैछ। सभामुखका लागि २ घण्टाको समय छुट्याइएको छ । सभामुखको पक्षबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपानेका साथै अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने भएका छन्।
सभामुख पक्षको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुको जवाफी बहस सुरु हुनेछ। उनीहरूका लागि पनि २ घण्टा समय छुट्याइएको छ। आजै यी दुवै पक्षका बहस सकिएमा भोलि एमिकस क्युरीले इजलासलाई आफ्नो राय दिने बताइएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा यही असार ९ गतेदेखि निरन्तर सुनुवाइ जारी छ। गत जेठ ८ गते संसद विघटन गरेपछि रिट निवेदकहरुले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका थिए। राष्ट्रपति र प्रधानमन्त्री पक्षका वकिलको बहस सकिएको छ। तर संसद् विघटन र प्रधानमन्त्री नियुक्तिका विषयमा सभामुखको फरक मत रहेकाले उनको पक्षबाट छुट्टै बहस हुने भएको हो। यी सबै बहस र राय सुनिसकेपछि इजलासले उक्त मुद्दामाथि केही दिनभित्रै फैसला गर्ने बताइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। अघिल्लो आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो। निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो।
गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मङ्सिरमा मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णय बदर गरेर ती निर्णयविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन पेश भएका छन्।



लोकपाटी न्यूज

