कार्तिक २७ देखि ३० गतेसम्म राप्रपा महाधिवेशन काठमाडौँमा हुने

Raprapa_RPP
लोकपाटी न्यूज

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आगामी २०७८ साल कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले महाधिवेशनको कार्यतालिकासमेत तय गरेको छ।

‘पार्टीको एकता महाधिवेशन आगामी २०७८ साल कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा गरिने निर्णय गरिएको छ र सो अनुसारको तालिका परिमार्जनसहित बैठकले पारित गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिका अनुसार वडा/गाउँ/नगर/प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गरिनेछ।

त्यस्तै सक्रिय सदस्यता वितरण-२०७८ भाद्र मसान्त सम्म, सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने-२०७८ असोज ७ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन- २०७८ असोज २० गतेसम्म, प्रदेश कार्य समितिको निर्वाचन-२०७८ असोज १५ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ।