ओली र नेपालबीच फेरि फोनवार्ता

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला नआएसम्म केन्द्रीय कमिटीको बैठक स्थगित गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसित शनिवार भएको टेलिफोन संवादमा नेता नेपालले यस्तो आग्रह गरेका हुन्। शनिबारै बालुवाटारमा बसेको बैठकमा ओलीले आफूहरूको फोन संवादबारे ‘बिफिङ’ गर्दै उक्त जानकारी दिएका हुन्।

‘अदालतको फैसला आउँदासम्म पर्खिनुस् न। बैठक रोक्नुस्। वार्ता गर्न दिनुस्,’ नेता नेपालले फोनमा भनेको कुरा ओलीले बैठकमा सुनाए। यद्यपि उनले बैठकमा पार्टी अब कसैलाई पर्खेर नबस्ने बताए। आफूले पटक-पटक मौका दिएपनि नमानेपछि अब पार्टीका सांगठनिक र वैचारिक क्रियाकलाप नरोकिने ओलीको भनाइ छ। पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किँदा पनि नेपाल पक्ष नआएको ओलीको दावी छ।

उनले भने, ‘जेठ २ को केन्द्रीय कमिटी जहाँ, केपी ओली, उपाध्यक्ष बामदेव गौतमलगायत नेताहरू हुनुहुन्छ, त्यही हो। उहाँहरु विपक्षी गठबन्धनमा लागेर आउँदै आउनुहुन्न। हामीले मौका दिएकै हो। अझै मौका दिने हो। आफ्नो सरकार ढालेर प्रतिपक्षी मोर्चाको सरकार बनाउन हिँडेकाहरुको हैसियत के हो?’