काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालले भनेजस्तै पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउन नसकिने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा पोखरेलले माओवादी केन्द्रबाट आएका ‘नेताहरु’ बाहिरिनुपर्ने गरी जेठ २ को मागलाई स्वीकार्न नसकिने बताएका हुन्।
उनले भने, ‘नेकपा एकीकरणका बेलाको भावनामा अगाडि बढेका छौं। माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राख्नुभएको छ, त्यो स्वीकार्न सकिन्न।’ महासचिव पोखरेलले जेठ २ भनेर पार्टी एकता र संगठनलाई कमजोर पार्न नसकिने बताए। उनले २०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जोडिएकोले जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिए।
‘पार्टीविरूद्ध लागेकाहरूलाई सोही पदको जिम्मेवारी दिन सकिँदैन, तपाईंहरु आफ्नो ठाउँमा त्यही अनुसार काम गर्नुहोस्,’ महासचिव पोखरेलले भने, ‘जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन सकिँदैन।’
महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै बसेको एमाले केन्द्रीय समितिको दोस्रो बैठक १०औँ महाधिवेशनका विषयमा केन्द्रित भएको छ। महासचिव पोखरेलले बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्। जसमा पार्टीको १० औँ महाधिवेशनका लागि मिति पनि प्रस्ताव गरिएको बताइएको छ।
‘मंसिरको संसदीय निर्वाचन र फागुनको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवशेन छिट्टै सम्पन्न गर्नुपर्छ। पार्टीको वैधानिकताका लागि पनि छिटो महाधिवेशन गर्नुपर्ने परिस्थिति छ,’ पोखरेलेको भनाइ थियो।



लोकपाटी न्यूज

