विराटनगर। सातायता पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्ष हालसम्मकै उच्च बहाव मापन गरिएको छ। शनिबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा एक लाख ८० हजार ७७० क्युसेक पानीको बहाव छ।
यसअघि शुक्रबार राति एक लाख ५५ हजार क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ। नदीमा जलस्तर बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ। नदीमा जलस्तर बढिरहेको अवस्थामा आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ। तर तत्कालै कुनै खतरा भने नरहेको जनाइएको छ।
सुनसरी प्रशासन र प्रहरीले सम्भावित अवस्थालाई ध्यान दिंदै सबैखाले तयारी गरिएको जनाएका छन्। पूर्वी पहाडी जिल्लाहरु तथा तराईमा पनि केही दिनयता लगातारजसो वर्षा भइरहेको छ। यही कारण कोसीमा मिसिने खोला, नदीहरुमा बाढी आएको छ। वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ।
डेढ दशकअघि कोसीमा पानीको बहाव वृद्धि भएका बेला पूर्वी तटबन्ध भत्किएको थियो। तटबन्ध भत्किएर कोसीको पानी सुनसरीका गाउँमा सोझिँदा हजारौं घरबारविहीन बनेका थिए। ठूलो क्षेत्रफलको खेतीयोग्य जग्गा पुरिएको थियो भने पूर्वपश्चिम राजमार्गको करिब १३ किलोमिटर क्षेत्र क्षतिग्रस्त बनेको थियो। यसैगरी सीमापारि भारतको बिहार क्षेत्रमा पनि कोसीको बाढीले मानवीय तथा भौतिक क्षति पुगेको थियो।



लोकपाटी न्यूज