काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए त्यसैलाई पार्टी फुट मान्ने चेतावनी दिएका हुन्।
ओलीले भने, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु भनेको पार्टी फुटेको घोषणा हो।’
एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। यस्तै, ओलीले नेता माधव नेपाललाई फोन गरेर भेटौं भन्दा नमानेको बताए। ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०-२५ मिनेट कुरा गरें। भेटौं भन्दा माधवले मान्नुभएन,’ उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भनेर माधवले भन्नुभयो।’
एमालेको केन्द्रीय कमिटी बैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको छ।



लोकपाटी न्यूज

