नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन् : दिनानाथ शर्मा

dinanath-sharma (1)
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको आरोप लगाएका छन्।

बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले नेपालका राजनीतिक दलहरुको लोकतान्त्रिक चरित्र हुन नसक्दा राजनीतिक संकट पैदा भएको बताएका छन्। उनले लोकतन्त्र भनेको माला जप्ने विषय नभई व्यवहारमा प्रस्तुत गर्नुपर्ने बताए। लोकतन्त्रका फरक मतको पनि सम्मान गर्नुपर्ने भएपनि नेपालमा केवल आफ्नो गुटको मात्रै कुरा सुनेर अगाडी बढ्दा समस्या पैदा भएको उनले उल्लेख गरे। उनले भने- ‘साच्चै नेपालमा हाम्रो चरित्र लोकतान्त्रिक बनेको रहेनछ। लोकतन्त्रको निम्ति संघर्ष ग¥यौँ। लोकतन्त्रको लागि रगत, पसिना पनि बगायौँ। तर हामी दलहरुमा लोकतान्त्रिक चरित्र निर्माण भएको रहेनछ। लोकतन्त्र भनेको कुनै माला होइन, जप्ने माला होइन। व्यवहार हो। यो अभ्यास हो। लोकतन्त्र बलियो हुन पार्टी भित्रको लोकतन्त्र व्यवस्थित हुनुपर्छ। पार्टी भित्रको भिन्न मतलाई सम्मान गर्न सक्नुपर्छ। आदर गर्न सक्नुपर्छ।

शर्माले नेपालको राजनीतिक प्रणाली संविधान र संसदको सर्वोच्चतामा आधारित भएको भन्दै संविधानलाई विघटन गरेर र संविधानको धाराहरुको खिल्ली उडाएर लोकतन्त्र र संविधानलाई समाप्त पार्न खोजिएको बताए। उनले प्रतिगमनको कालो बादल मडारिएको टिप्पणी गरे। उनले भने- ‘हाम्रो प्रणाली भनेको संसदको सर्वोच्चता हो। संविधानको सर्वोच्चता हो। संविधानलाई नमानेपछि, संसदलाई नमानेपछि, संसदलाई विघटन गर्दै हिडेपछि, संविधानको धाराहरुको खिल्ली उडाएपछि उत्पन्न राजनीतिक संकट हो। राष्ट्रिय संकट हो। यो संकट सबभन्दा गम्भिर संकट हो। यसले संविधान समाप्त हुने। लोकतन्त्र समाप्त हुने। प्रतिगमनको खतरा अगाडी कालो बादल, प्रतिगमनको कालो बादल अगाडी मडारिएको छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत् देश चलाउन खोज्नु चाहीँ निर्दलीयता भएको बताए। उनले कालीगण्डकी परियोजना संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरी अगाडी बढाएको भन्दै त्यसको पुनर्विचार गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्