काठमाडौं। राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमाथि विश्वास नगर्दा ५ जनाको सरकार चलाउनुपर्ने बाध्यता आएको टिप्पणी गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा अधिकारीले सरकारको जवाफदेहीता र राष्ट्रपतिको गरिमाका विषयमा प्रश्न पनि उठाए।
‘संविधान निर्माण गर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशितालाई अंगाल्ने भनेर मूल नीति बनाइयो। आज म प्रश्न गर्न चाहन्छु, आज सरकार वा भनौं प्रधानमन्त्रीको कामकारबाही र निर्णयका कारण सम्माननीय राष्ट्रपति गरिमा आम नेपाली नागरिकबीच बढेको छ कि घटेको छ ? सम्माननीय राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गरेर पुग्ने हो। गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपतिको संस्थाको रक्षाकवच हुनुपरेन ? आज स्थिति के छ, सम्बन्धित सबैले मनमनै गुनुन् भन्ने मेरो आग्रह छ,’ उनले भने।
अधिकारीले लोकतन्त्रमा जवाफदेहीता, पारदर्शिता, विधिको शासनको ज्यादै महत्त्व हुने बताउँदै आजको सरकार कोप्रति जवाफदेही छ ? भन्दै प्रश्न गरे। ‘सरकारले लिएका वा लिने गरेका निर्णयहरूमा पारदर्शिता कति छ ? विधिको शासनको अपेक्षा आम नागरिकले गर्न पाउने वा नपाउने के हो ?,’ उनले प्रश्न गरे।
अधिकारीले इजरायल र बेलायतको उदाहरण दिएर चुनाव गराउन खोज्ने प्रधानमन्त्रीको रणनीति असंगत भएको बताए। ‘इजरायलले सबैलाई खोप लगाइसकेको छ। बेलायतसँग पनि निर्वाचन सम्पन्न गर्ने अत्याधुनिक व्यवस्था छ। कोभिडको यस्तो महामारीमा उनीहरूको उदाहरण दिएर चुनाव गराउने खोज्ने प्रधानमन्त्रीको रणनीति असंगत छ,’ उनले भने। सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा चुनावका लागि जनतामाझ जान नसकिने उनको भनाइ छ।
‘सरकारले निषेधाज्ञा पनि लगाएको छ। के आफ्नै उर्दी नाघेर जनतामाझ जानु भन्न खोजिएको हो,’ अधिकारीले भने। सरकार कोभिड नियन्त्रणमा असफल भएको उनले बताए । खोप कूटनीतिमा सरकार असफल भएको उनको दाबी छ। ‘पटक पटक स्वास्थ्यमन्त्री फेरिनु, उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अवकाश प्राप्त जर्नेलको मातहतमा हुनुले सरकारको असफलतालाई उदांगो पार्छ,’ उनले भने।



लोकपाटी न्यूज

