काठमाडाैँ। जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन्। जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन-नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन्।
कानुनमन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयं प्रहरी कार्यलय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेकोबारे प्रश्न गरेका थिए। पत्रकारको जिज्ञासामा मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताए। उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
‘गाडीमा चढाएर लगे। यो दुर्भाग्यको कुरा हो। राम्रो काम होइन। सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ,’ कानुनमन्त्री श्रेष्ठले भने, ‘मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ।’ सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो। तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारीसाधनमा लिफ्ट दिएका थिए।



लोकपाटी न्यूज

