रुकुम पश्चिम। ठूलीभेरी नगरपालिका–६, दूरगाउँकी एक सुत्केरीको मृत्यु भएको छ। २४ वर्षीया आतमाया विकको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। विक स्वास्थ्य संस्था नगइ शुक्रबार राति घरमै सुत्केरी भएकी थिइन्।
बच्चा जन्मिएको र अत्याधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ। नगरपालिका स्वास्थ्य संयोजक खड्कबहादुर बुढाले घरमै सुत्केरी भएको र सालनाल ननिस्किएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै विकको मृत्यु भएको जानकारी दिए । शुक्रबार राति अस्पताल टाढा भएको भन्दै उनलाई अस्पताल लगिएको थिएन।
सुत्केरीलाई थप उपचारका लागि प्रसूति गृह लैजानका लागि बिहानै स्वास्थ्यकर्मी घरमा पुग्दा उनको मृत्यु भइसकेको बुढाले बताए। जिल्ला सदरमुकाम दुनै भन्दा ५ घण्टा पैदल दूरीमा दूरगाउँ रहेको छ। अघिल्लो वर्ष पनि यही ठाउँमा घरमै सुत्केरी भएकी एक महिलाको पनि मृत्यु भएको थियो। यहाँका अधिकांश गर्भवती महिलाले गर्भ जाँच गराउन नपाएको र स्वास्थ्य संस्था टाढा हुँदा समस्या भइरहेको बताएका छन्।



लोकपाटी न्यूज

