सरुवा, बढुवाका लागि म कहाँ नआउनु होला : मन्त्री पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री विष्णु पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन्। शुक्रवार गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ-आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताए।

उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए।

‘कुनै प्रहरी सङ्गठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृह सचिवले हस्तक्षेप गर्दैन। संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरू छन्, त्यसका आधारमा आ-आफ्ना जिम्मेवारी पुरा गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ। मलाई नतिजा चाहिन्छ। नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु,’ उनले भने।

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउन लागि निर्देशन दिए। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए। ‘अन्याय भयो भनेर साँच्चि नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोशनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्