काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेट बाक्लिन थालेको छ। आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल डाकेको पूर्वसन्ध्यामा सभापतिका तीन आकांक्षीबीच महाराजगञ्जमा छलफल भएको छ।
बिहान ११ बजेबाट महामन्त्री शशांक कोइराला निवासमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र नेता प्रकाशमान सिंहबीच भेट भएको हो। भेटमा १४ औं महाधिवेशन केन्द्रीत कुराकानी भएको बताइएको छ। उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्।
बैठकमा सहभागी नेता प्रकाशमान सिंहले सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेकामध्ये कोही एकलाई सर्वसम्मतले अघि सार्नुपर्ने विषयमा जोड रहेको बताए। ‘हामीबीच सर्वसम्त रूपले अघि बढौं भन्ने छलफल भएको छ। यो छलफललाई आगामी दिनमा पनि निरन्तरता दिँदै हामी आवश्यक रणनीति तय गर्छौं,’ उनले भने।
छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापति को उठ्ने भन्ने पछि नै निर्णय गरिने बताए। ‘आज मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो,’ उनले भने, ‘हाम्रो बीचमा सहमति भएर जाने सम्भावना प्रबल हुँदै गएको छ। पार्टीलाई एकजुट बनाएर लैजाने हाम्रो भनाइ हो।’
उनले पार्टीलाई गुट/उपगुटमा विभाजित गर्दा धरासायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानु पर्नेमा जोड दिए। ‘पार्टीलाई एक ढिक्का बनाएर लैजाने हो,’ उनले भने। यता उपसभापति निधिले अलग-अलग गुटका नेता एकै ठाउँमा बस्नु भनेको गुट तोड्न भएको दाबी गरेका छन्। उनले नयाँ गुट बनाउने आफूहरूको चाहना नभएको दाबी गरेका थिए।
निधिका अनुसार आज राष्ट्रिय राजनीतिबारे पनि छलफल भएको थियो। ‘पार्टी सभापति, वरिष्ठ नेता र केन्द्रीय समितिका सबै नेतासँग हामी छलफल गर्छौं,’ उनले भने, ‘हामी छलफलबाटै अगाडि बढ्छौं।’ उनले देशभरका कार्यकर्ताको भावनाअनुसार नै अगाडि बढ्ने पनि बताए। ‘कांग्रेस राम्रो भएर आओस् भनेर सबैले चाहेका छन्,’ उनले भने।



लोकपाटी न्यूज

