रुपन्देही। गुल्मीको मालिका गाउँपालिकाले स्थानीय रक्सीलाई ब्राण्ड बनाउनको लागि ऐन पारित गरेको छ। बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऐन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो।
स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रूपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ। मदिरा ऐनअन्तर्गत मदिरा नियमावली २०३३ ले घरेलु मदिरालाई बिक्री वितरणलाई पूर्णरुपमा प्रतिबन्ध लगाए पनि पालिकाको आयस्रोत बढाउने नाममा घरेलु मदिराको उत्पादनलाई अनुमति दिइएको हो।
सरकारले अवैध मान्दै आएको घरेलु मदिरालाई मालिकाले ब्राण्डिङ गर्ने नीति पारित गरेपछि यसले चर्चा पाएको छ। आन्तरिक राजश्व विभागले अवैध करार गर्दै उत्पादनमा प्रतिबन्ध लगाएको घरेलु मदिरालाई गुल्मीको मालिका गाउँपालिकाले ब्राण्डिङ गरी बिक्री गर्ने निर्णय गरेको हो। गाउँसभाले केन्द्रीय ऐनसँग बाझ्ने गरी स्थानीय स्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको छ।
ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने र स्थानीय तहको आयस्रोत वृद्धि हुने पालिकाको अनुमान छ। संघीय ऐनअनुसार मदिरा उत्पादन तथा बिक्रिवितरणको एकाधिकार आन्तरिक राजश्व विभागको छ। गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले भने देशका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि यस्तो ऐन ल्याइएको बताएका छन्।
स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गइरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको प्रवक्ता गिरीले बताए। गाउँमा अवैध ढंगले उत्पादन भएका मदिरा भट्टीले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टाँस्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको गाउँपालिकाले जनाएको छ।



लोकपाटी न्यूज

