लाइभ न्यूजमै समाचारवाचकले हामीले तलब पाएका छैनौं भनेपछि…

anchor pic
लोकपाटी न्यूज

एजेन्सी। जाम्बियाका एक पत्रकार अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। गत शनिबारको समाचार क्लिपले उनलाई भाइरल बनाएको हो। कबिन्द कालिमिना नामका यी प्रस्तोता केबिएन टिम न्युजका लागि काम गर्छन्। समाचारको हेडलाइन पढ्दासम्म उनी सामान्य नै देखिन्थे। त्यसपछि एकाएक अन्य समाचार पढ्न छाडेर उनले प्रत्यक्ष प्रसारणमै भने, ‘लेडिज एन्ड जेन्टलमेन, समाचारभन्दा पर, हामी मानव हौं। त्यसैले हामीले पारिश्रमिक पाउनुपर्छ। दुग्र्भायवश केबिएनमा हामीले पारिश्रमिक पाएका छैनौँ। मसहित सारोन र अन्य सबैजनाले पाएका छैनन्। हामीले तलब पाउनुपर्छ।’

यति भनिसकेपछि टेलिभिजन स्टेशनमा समाचार कट भयो। अनि, निर्माताले पुनः ट्रेलर बजाउन थाले। केबिएन टिभीले ख्याति कमाउनका लागि एक रातको स्टन्ट गरेको भन्दै कालिमिनको निन्दा गरेको छ। कालिमिनले जड्याँहाको व्यवहार देखाएको भन्दै यसबारे अनुसन्धान गरिने पनि टिभीले जनाएको छ। ‘कसरी रक्सीले मातेका पार्ट–टाइम प्रस्तोता अन एयरमा पुगे भनेर हामी अनुसन्धान गर्दैछौँ,’ टेलिभिजनका सिईओले फेसबुकमार्फत विज्ञप्ति निकाल्दै भनेका छन्।

यद्यपी, हेडलाइन पढ्दासम्म यी प्रस्तोता निकै भद्र र सामान्य देखिएका थिए। पत्रकार तथा कर्मचारीले तलब नपाएकै कारण आफू यस्तो कदम चाल्न बाध्य भएको कालिमिनले बताएका छन्। कम्पनीले लगाएको आरोपको उनले खण्डन गरेका छन्। फेसबुकमा उनले लेखेका छन्,‘हो मैले लाईभ टिभीमा यस्तो काम गरेँ किनकी धेरै पत्रकारहरु बोल्नका लागि डराउँछन् भन्नुको अर्थ पत्रकारहरुले बोल्नै हुँदैन भन्ने होइन।’ डेली मेल