काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ।
कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो। कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो। यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ। आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।
कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो। कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो। हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ। आईपीओ जारी गरे पश्चात यो पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा गरेको छ। उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब १८ करोड ३९ लाख १० हजार रुपैयाँ छ। आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी १०४ दशमलव ९७ रहेको छ।
कम्पनीले निष्कासन गर्न लागेको उक्त आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ। यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।


लोकपाटी न्यूज
