सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आयव्यसहित कुल १ अर्ब ३६ करोड ७२ लाख ९ हजार २ सय ९० बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरसभामार्फत् नगरपालिकाकी उपमेयर जानुका पराजुलीले आर्थिक वर्ष २०७८/७९ को नीति योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेकी हुन्।
नगरले स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, कृषि विपद्, पूर्वाधार र विकास, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको हो। कोभिड-१९ को दोस्रो प्रजातिको संक्रमणबाट उत्पन्न हुन सक्ने समस्या नियन्त्रण तथा रोकथामका लागि नगरले विशेष प्राथमिकता दिने भएको छ।
यो वर्ष सम्पुर्ण नगरबासीलाई कोरोना विरुद्धको खोप सुनिश्चतता गरिने, विपन्न नागरिकले पाउने स्वास्थ्य सुविधा अन्तरर्गतका रोगहरु क्यान्सर, टाउकोको गम्भिर चोट, ब्रेन ट्युमर, मृगौला, मुटु, मेरुदण्डका बिरामीहरुलाई राहत स्वरुप १५ हजार दिने नगरपालिकाले जनाएको छ।
कोरोनाबाट मृत्यु भएका मृतकको परिवारलाई १५ हजारका दरले आर्थिक साहयता उपलब्ध गराइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई ५ हजारका दरले क्रिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
बारी बाँझो नराखौं,माटोले मागेको रोपौं भन्ने अभियान अन्तगर्त कृषकलाई माटोको प्रकार गुणस्तर हावापानी अनुकुल खेती गर्न मल, बिउ, प्राविधिक सेवा उपलब्ध गराइने भएको छ।



लोकपाटी न्यूज

