सार्वजनिक यातायात सञ्चालन गर्न दिन व्यवसायी र मजदुरकाे माग

लोकपाटी न्यूज

काठमाडाैँ। यातायात मजदुरहरूलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक गाडी सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरूले माग गरेका छन्।

बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यातायात मजदुरहरूलाई कोभिड-१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सार्वजनिक गाडी सञ्चालन गराउन माग गरेका हुन्।

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नुपरेको तथा मजदुरहरू भोकभोकै बस्नुपर्ने बाध्यता आइ लागेकाले आफूहरूको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। प्रशासन यस विषयमा सकारात्मक भएको र केही दिनको कोभिड सङ्क्रमणको अवस्था हेरेर निर्णय गर्ने बताएको उनले जानकारी दिए। सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरूले माग गरेका छन्।

प्रशासनले यातायात मजदुरलाई आउँदा दिनमा कोभिड-१९ विरुद्धको खोपमा प्राथमिकता दिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको महासचिव सिटौलाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्