केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशकौंदेखिको संघर्षबाट बनको संविधान जोगाउन फेरि संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेको बताए। उनले भने, ‘पाँच दलीय गठबन्धन लामै छलफलबाट बनेको हो। पछिसम्मै जान्छ। दशकौंदेखि संघर्षबाट बनेको संविधान जोगाउन हाम्रो संघर्ष जारी छ।’

प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस त तपाईँ भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए। ‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ। संविधानको रक्षाका लागि हिँडेको छ। तपाईँ लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ। अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?,’ प्रचण्डले भने।

उनले माधव नेपाल गणतन्त्रको आन्दोलनमा हिँड्दै गर्दा केपी ओली कहाँ थिए भनेर प्रश्नसमेत गरे। उनले प्रधानमन्त्रीबारे प्रश्न उठ्दा आफूले सहजै पद त्यागेको उल्लेख गर्दै आफू र ओलीलाई दाँज्न नमिल्ने समेत बताए। ‘माधवजी गणतन्त्रको आन्दोलनमा हिँड्दै गर्दा केपीजी कहाँ हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो ?,’ उनले भने ‘प्रधानमन्त्रीबारे प्रश्न उठ्दा सहजै पद छोड्ने प्रचण्ड र प्रधानमन्त्रीबाट हट्नुपरे देशै डुबाइदिन्छु भन्ने ओली उस्तै उस्तै हो ?’

उनले ओली र माधव नेपाल उस्तै नभएको पनि बताए। ‘ओलीले बयल गाडा भन्दै गर्दा गणतन्त्रको झन्डा बोक्ने माधव नेपाल उस्तै-उस्तै होइन। प्रश्न उठना साथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्न परे कुर्सी भाँच्छु भन्ने ओली उस्तै-उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं। तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्