काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेताहरूले बिहीबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै छन्। सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन्।
दिउँसो २ बजे बारेश्वरस्थित संसद् भवनमा सम्पादकहरूसँग छलफल गर्न लागेको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। काँग्रेस सभापति देउवा निवासमा बुधवार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।
उनकाअनुसार छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत सबै दलका प्रमुख सचेतक र पार्टीका पदाधिकारीहरू बस्ने छन्। छलफलमा समसामयिक परिस्थिति बारे अवगत गराउने र सम्पादकहरूसँग सुझाव माग्ने कार्यक्रम रहेको खाँणले जानकारी दिए।



लोकपाटी न्यूज

