जागिर खान लिखित परीक्षा लिने प्रचलन कहाँबाट सुरु भयो ?

Loksewa
लोकपाटी न्यूज

काठमाडौं। स्थायी सरकारी जागिर खानको लागि निश्चित प्रक्रियाहरू पुरा गर्नु पर्छ। ती मध्ये लिखित प्रतियोगिता परीक्षा पनि हो। लोक सेवा आयोगले सञ्चालन गर्ने त्यस्तो लिखित परीक्षामा राम्रो अंक ल्याउने परीक्षार्थीले सरकारी जागिर खाने मौका पाउँछ। सरकारी बाहेक अन्य संस्थाहरूले पनि यस्ता लिखित परीक्षाहरू लिने गरेका छन्।

यसरी परीक्षा लिएर राम्रो अंक ल्याउनेलाई नोकरीको लागि छान्दा योग्य मानिसहरू छानिने सम्भावना बढी रहन्छ। तर, के तपाईं थाहा छ- संसारमा यस्तो प्रचलनको सुरुवात कहाँबाट थियो भन्ने कुरा ?

विश्वको इतिहास केलाउँदै जाने भने, लिखित प्रतियोगिता परीक्षाको सुरुवात सबैभन्दा पहिले दोस्रो शताब्दीतिर चीन देशबाट भएको पाइन्छ। त्यस बेला चीनमा सरकारी तथा सार्वजनिक सेवाहरूमा तिनै व्यक्तिहरूलाई छनौट गरिन्थ्यो, जो लिखित प्रतियोगिता परीक्षामा प्राप्तंकको दृष्टिकोणले क्रमशः अगाडि हुन्थे। तर ठिकै त्यस बेलातिर, संसारका अन्य देशहरूमा सरकारी जागिरमा सत्तामा रहेका व्यक्तिहरूका नाता कुटुम्बाहरुले मात्रै प्राथमिकता पाउँथे।

६१८ इं. देखि ९०६ ई.का बिच चीनमा तांग राजवंशले शासन गरेको थियो। त्यस समयमा चीनमा सरकारी जागिरमा योग्यताको आधारमा उम्मेदवारलाई चयन गर्नको लागि केन्द्रीकृत प्रतियोगिता परीक्षाको व्यवस्था पनि गरिएको थियो। उक्त परीक्षामा कुनै भेदभाव गरिँदैनथ्यो, सबैले समान रूपमा भाग लिन पाउँथे।

विभिन्न सरकारी ओहोदाहरूका लागि हुने ती प्रतियोगिताहरूको परीक्षा कैयौँ दिनसम्म पनि चलिरहन्थ्यो। रोचक कुरा त के थियो भने, त्यस बेलाको परीक्षामा अहिले जस्तो २-३ घण्टाको सीमित समय सीमा राखिएका हुँदैनथ्यो प्रतियोगिहरुलाई उत्तर लेख्नका लागि पुरै दिनभरिको समय प्रदान गरिन्थ्यो। परीक्षामा अनियमितता वा धाँधलीहरु हुन दिइँदैनथ्यो, अत्यन्तै कडाइका साथ परीक्षा सञ्चालन गरिन्थे।

त्यसरी परीक्षा लिइसकेपछि प्रत्येक उत्तर पुस्तिकाको प्रतिलिपि तयार गरिन्थ्यो। यसरी प्रतिलिपि तयार गर्ने काम पनि अलग अलग व्यक्तिहरूले गर्ने गर्थे। र, त्यसरी तयार गरिएको प्रतिलिपि चाहिँ जाँचिन्थ्यो, त्यसरी प्रतिलिपि तयार गराइनुको कारण चाहिँ परीक्षकले परीक्षार्थीलाई नचिनोस् र कुनै किसिमको पक्षपात नहोस् भन्ने नै थियो।

त्यसरी अत्यन्तै कडाइका साथ लिइएको परीक्षामा जुन परीक्षार्थीले सबैभन्दा बेसी अंक प्राप्त गर्थे, त्यही व्यक्ति नै सम्बन्धित पदका लागि सबैभन्दा योग्य व्यक्तिको रूपमा छनौट गरिन्थे। सबैभन्दा बेसी अंक ल्याउनेहरूलाई अंकका आधारमा उच्च पदहरू दिइन्थे। त्यसैले आमरुपमा नै के धारणा बन्न गएको थियो भने, जसले बेसी अंक ल्याउने छ, उसैले नै राम्रो र उच्च पदक पाउने छ !