संसद विघटनविरुद्ध सडक संघर्ष सुरु गर्ने विपक्षीको तयारी

Bipaxi_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गर्ने तयारी अघि बढाएको छ। बुधवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी गठबन्धनका दोस्रो तहका नेताहरूको बैठकले सडक आन्दोलन सुरु गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बैठकले आन्दोलनको प्रारूप तय गर्नका लागि कार्यदलसमेत बनाएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र तथा नेकपा एमाले माधव नेपाल समूहका शीर्ष नेताहरूको निर्देशन अनुसार दोस्रो तहका नेताहरूको बैठकले आन्दोलनको प्रारूप तयार पार्न कार्यदल बनाएको हो। कार्यदलमा भीम रावल, पूर्णबहादुर खड्का, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू रहेको बताइएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनले कोरोना भाइरसको संक्रमण केही कम हुन थालेपछि कानुनी लडाइसँगै सडक आन्दोलन पनि अघि बढाउने भएको हो। पहिलो पटक संसद् विघटन हुँदा विपक्षी गठबन्धनले सडक आन्दोलनलाई उत्कर्षमा लगेको थियो। संसद् विघटन विरुद्ध परेको रिटमाथि अहिले सर्वोच्च अदालतमा विषय केन्द्रित बहस जारी छ।