काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले विघटित संसदीय दलको बैठक बोलाएको छन्। बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने तयारी रहेको छ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न ठाकुरले दलको बैठक बोलाएको जसपाका एक नेताले जानकारी दिए।
सर्वोच्चको पछिल्लो आदेश र विकसित राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए। सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपा ठाकुर पक्षका ११ जना मन्त्री पदमुक्त भएका छन्। ठाकुर पक्षले दलको बैठकसँगै कार्यकारिणी समिति बैठक पनि बोलाएको छ।
‘कार्यकारिणी समितिको बैठक पनि बोलाइएको छ, दलको बैठकपछि कार्यकारिणी समिति बैठक बस्छ,’ ती नेताले भने। निर्वाचन आयोगलाई जवाफ पठाउने निर्णय गर्नका लागि ठाकुर पक्षले कार्यकारिणी समिति बैठक बोलाएको बताइएको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र पठाएको छ।



लोकपाटी न्यूज

