बागलुङ। प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार, सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो।
शाखा संयोजक थम्मन थापा सन्देश, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा कार्यरत पत्रकार, सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिए।
उनका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाईसमेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडियो गलकोट, सारथी, परिवर्तन, ढोरपाटन, बुर्तिबाङ पत्रिकातर्फ गलकोटपत्र साप्ताहिक, अनलाइनमा बडिगाड, निसीखोला न्यूज र ढोरपाटन पोष्टका प्रमुख एवं पत्रकारको उपस्थिति रहेको थियो। रेडियोलाई पाँच÷पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो।
“सङ्कटका बेला पत्रकारहरुप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रुपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भने। सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा रहेका सञ्चार संस्था र पत्रकारलाई एक÷दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ।
जिल्लाभरमा गरी रु. ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताए। सङ्गठनमा आबद्ध पदाधिकारी,सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उनको भनाइ छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडियो, पत्रिका, अनलाइन मिडिया प्रमुख तथा प्रतिनिधिले प्रेस संगठन नेपाल प्रति संयुक्त रूपमा आभार प्रकट गरेका छन्।
विषम परिस्थितिमा प्रेस संगठन नेपाल बागलुङ शाखाले परोपकारी कार्यको शुभारम्भ गरेकोमा प्रशंशा समेत व्यक्त गरे। यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो।
उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ। सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ। प्रेस सङ्गठन नेपाल पूर्ण प्रेस स्वतन्त्रताको रक्षासहित श्रमजीवी पत्रकारको हितका पक्षमा सक्रिय छ।



लोकपाटी न्यूज

