काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सर्वाेच्च अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि र विधान सिकाइदिएको टिप्पणी गरेका छन्। सर्वाेच्चले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरषद्का सदस्यलाई पदमुक्त गराउन अन्तरिम आदेश दिएपछि गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘यो काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन भन्ने त स्थापित मान्यता हो। प्रधानमन्त्री ओलीले विधि विधान केही नमानेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो,’ उनले भने, ‘उहाँँ (केपी ओली)लाई सर्वाेच्चले विधि विधान सिकाइदियो।’
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको आज मंगलबारको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटन गरेको काम चलाउन चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए।
सर्वाेच्चको यो फैसलाले प्रधानमन्त्रीसहित पाँच जनाबाहेक सबै मन्त्री पदमुक्त भएका छन्। सर्वाेच्चको आदेशलाई लिएर सत्तारुढ एमाले र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले आपत्ति जनाइसकेको छ।



लोकपाटी न्यूज

