काठमाडौँ। नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले १४ औँ महाधिवेशनमा पार्टी सभापतिको लागि आफूले उम्मेदवारी दिने बताएका छन्। श्रेष्ठले पार्टी सभापतिको लागि आफ्नो नाममा सहमति बन्ने दाबी पनि गरे। सभापतिमा शेरबहादुर देउवालाई फेरि दोहोर्याउन नसकिने उनको आशय छ।
‘सहमति पनि मेरै नाममा हुन सक्छ,’ श्रेष्ठले भने, ‘रियल उम्मेदवार नै म हो। शेरबहादुर देउवापछिको नेता मै हुँ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो। सभापतिमा म आफैँ अघि बढ्ने हो।’ यद्यपि सभापति देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्ने गरी छलफल चलाएका छन्। आइतबार सभापति देउवाले गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सो छलफलमा श्रेष्ठ भने उपस्थित भएनन्।
श्रेष्ठ देउवालाई लामो समयदेखि नजिकबाट सहयोग पुर्याउने नेता हुन्। तर, अब देउवाले सभापतिको लागि आफूलाई सहयोग गर्नुपर्ने श्रेष्ठको भनाई छ। ‘उहाँले आफ्नो उम्मेदवारीकै विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो भन्ने मैले थाहा पाइहालेँ,’ श्रेष्ठले भने, ‘उहाँलाई मैले एक वर्ष पहिले नै भेटेर अब पार्टी सभापतिमा मैले उम्मेदवारी दिने हो। तपाईँले सहयोग गर्नुस् भनेको हुँ। अहिले उहाँले आफू नै सभापति हुनका लागि जसरी बैठक गर्नुभएको छ। त्यो जानेर म नगएको हुँ।’
१४ औँ महाधिवेशनमा सभापतिको प्रमुख दाबेदार आफू भएकोले त्यसअनुसार तयारी पनि थालेको उनले जानकारी दिए। देउवालाई तत्कालीन शाही आयोगले थुन्दा आफूले नै आन्दोलनको नेतृत्व गरेर अघि बढेको र पार्टीमा पनि कार्यवाहक भएर राम्रोसँग काम गरेको बताउँदै श्रेष्ठले अब देउवाले काँध फेर्ने बेला आएको बताए।
‘देउवालाई शाही आयोगले थुन्दा म नै कार्यवाहक भएर आन्दोलन हाँकेँ,’ उनले भने, ‘१२ बुँदेमा हस्ताक्षर गर्ने एक नेता हुँ। १२ औँ महाधिवेशनमा उहाँलाई सभापति बनाउन खोजेकै हो सकिएन, १३ औँमा बनाइयो। अब त उहाँले काँध फेर्ने बेला भयो नि।’ नेता श्रेष्ठले एक वर्षअघि नै आफूले देउवालाई उम्मेदवारीबारे जानकारी गराएको र यसअघि पनि देउवाले आफूलाई नै नेतृत्व छाडिदिने आश्वासन दिएको बताए।
‘करिब एक वर्ष पहिले नै अभियान चलाएको हुँ,’ उनले भने, ‘एक वर्ष पहिला पनि भनेको हुँ। अब मेरो पालो हो भनेर, अब उमेरले पनि दिँदैन। मैले उहाँलाई अब म उम्मेदवार हुँ भन्दा मैले तपाईँलाई नै हो छोड्ने भनेर भन्नुभएको हो। त्यो बाचा पनि अब उहाँले पूरा गर्नुपर्ने बेला आएको छ।’



लोकपाटी न्यूज

