योगको उत्पत्ति नैपालमै भएको हो : प्रधानमन्त्री ओली

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पत्ति नेपालमै भएको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतले आफ्नो भूमिमा भएको दाबी गरे पनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको बताएका हुन्।

उनले भने, ‘योगको उत्पत्ति भारतमा भएको होइन। त्यो समय भारत भन्ने देश नै थिएन। त्यहाँ रजौटा थिए। स-साना राज्यहरू थिए। त्यसैले योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो। त्यही भन्नुपर्थ्यो।’ नेपालसँग कस्तुरी भए पनि त्यसको चर्चा गर्न नसकेको उनको भनाइ छ। यसको अन्तर्राष्ट्रियकरण गर्न नसक्दा पछि परेको उनले बताए।

नेपालका विद्वानहरूले यसलाई अन्तर्राष्ट्रियकरण गर्न मञ्च नपाएको र यहाँका शासकले ध्यान नदिएका कारण भारतले संयुक्त राष्ट्रसंघमा पुर्‍याएको बताए। उनले भने, ‘हामीले हाम्रा ऋषिमुनिलाई कहिल्यै उद्धरण गरेनौं। फलानो प्रोफेसर भनिरह्यौं। हामीले हाम्रो कुरा राखेनौं। विश्वव्यापीकरण गर्न सकेनौं। उत्तरायनको सबैभन्दा लामो दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभयो। अन्तर्राष्ट्रिय मान्यता पायो।’

उनले महर्षि पतञ्जलिको जन्म पनि यहीँ भएर अभ्यास पनि यही भूमिमा भएको बताए। यसै गरी योगका कपिलमुनि मात्रै होइन, आयुर्वेदका महर्षि चरक जस्ता विद्वान यहीँ जन्मिएको बताए। उनले थपे, ‘शुश्रुत जस्ता विद्वान यहीँ जन्मिएका हुन्। २७-२८ सय वर्षअघि शल्यक्रिया यहीँ गण्डकी किनारमा त्रिवेणीमा अभ्यास भएको हो। हिमाली जडीबुटीको अध्ययन बनारसमा बसेर गर्न सकिँदैन।’

उनले अध्ययन यहीँ गरेर अपरेशनको अभ्यास बनारसमा गरेको बताए। ऋषि विश्वमित्रले मन्त्रहरूको मन्त्र पनि यहीँ लेखेका उनको भनाइ थियो। उनले थपे, ‘राम लक्ष्मणलाई शिक्षा दिन विश्वमित्र कोसी तरेर पश्चिम आएका थिए। अयोध्यापुरी यहीँ थियो। वाल्मीकि आश्रम यहीँ थियो। सीताले समाधि प्राप्त गरेको देवघाट यहीँ थियो।’

इतिहासमा गलत उल्लेख भएको बताउँदै प्रधानमन्त्री ओलीले वास्तविक इतिहास लेखिनुपर्नेमा जोड दिए। उनले भने, ‘सत्य कुरा भन्न पनि हच्किने अवस्था छ। चेतनाले एउटा भन्छ, मुखले अर्को भन्ने गरेको पाइन्छ। इतिहास र सभ्यतालाई बंग्याउन पाइँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्