काठमाडौं। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन्। करिब ३० वर्षको सहयात्रापछि निधिले देउवासँग सभापति बन्ने इच्छा देखाएका छन्। यही कारण अप्ठ्यारो परेको देउवानिकट एक नेताले बताए। तर केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति देउवा पनि मैदानमा उत्रिएका छन्।
तर, उपसभापति निधिले पनि सभापतिमा लड्ने तय गरिसकेकोले उक्त निर्णयबाट पछि नहट्ने बताएका छन्। ‘हो, म सभापतिको उम्मेदवार हुँ। मैले पार्टी सभापति शेरबहादुर देउवालाई एक/डेढ वर्षअघि नै भनिसकेको थिएँ। मैले सोचेको थिएँ, उहाँले मेरै लागि पहल गर्नुहोला,’ निधिले भने, ‘तर, उहाँले आफ्नै लागि लबिङ सुरु गर्नु भएको छ। शनिवार प्रदेश दुईका केन्द्रीय सदस्यसहितको छलफलमा मैले उहाँलाई भने, म यस पटक लड्छु, मलाई तपाईँको समर्थन, आशीर्वाद चाहिन्छ। उहाँले तपाईँको अधिकार छ लड्नुस्, म पनि लड्छु भन्नुभयो।’
मैले जवाफमा भनेको छु, ‘लड्ने अधिकार छ भन्नुभयो, त्यो अधिकार त छँदैछ, तर तपाईंसँग मेरो लामो सम्बन्ध छ। नेविसंघदेखि आजका दिनसम्मको सम्बन्धका आधारमा म सभापतिमा लड्दा तपाईँको समर्थन प्राप्त गर्ने पनि मेरो अधिकार हो।’ अनलाइनखबरसँगको संवादमा निधिले सभापति देउवाले आफूलाई सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्।



लोकपाटी न्यूज

