प्रधानमन्त्री ओलीसँग असन्तुष्ट सबै पार्टीसँग कांग्रेसको सहकार्य हुन्छ : बरिष्ठ नेता पाैडेल

Ramchandra poudel
लोकपाटी न्यूज

तनहूँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन गरेकाे बताएका छन्। तनहुँका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शनिबार नेता पौडेलले राष्ट्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका हुन्।

‘राष्ट्र र संविधानलाई बचाउन कांग्रेसले जुनसुकै पार्टीसँग सहकार्य गरी साथमा लिएर अगाडि बढ्न तयार छौं’, उनले भने, ‘मुलुक दुई ध्रुवमा विभाजित भएको छ, लोकतान्त्रिक पक्षधर एकजुट भएर अगाडि बढ्नुपर्छ।’ अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले संविधान र प्रजातन्त्रलाई बचाउने विषयमा पार्टीको सीमा मिचेर अगाडि बढ्नुपर्ने बताए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट भएका सबै पार्टीसँग कांग्रेसको सहकार्य हुने पौडेलको भनाइ छ। राजनीति अहिले अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै वरिष्ठ नेता पौडेलले परिवर्तनका लागि संयुक्तरूपमा मिल्नुको विकल्प नभएको बताए। संयुक्त आन्दोलनबाट नै देशको परिवर्तन भएको उनको दाबी छ।

उनले कम्युनिष्टको ‘क’सँग नभई अधिनायकवाद र अन्यायको ‘अ’ विरुद्ध लोकतान्त्रिक पार्टी संयुक्त भएको समेत स्पष्ट पारे। ‘यो विपत्तिको सामना गर्न पार्टी पार्टी बीच समन्वय आवश्यक छ, हामीले त्यो आधारलाई समेटेर अगाडि बढिरहेका छौं’ उनले भने। उनले संकटको सामना गर्न सक्ने क्षमतावान नेतृत्व गर्न सक्ने पार्टीलाई आवश्यक भएको बताए। तनहुँका स्थानीय तह र अस्पताललाई ३५ लाखको स्वास्थ्य सामग्री कोभिड १९ संक्रमणको जोखिमसँग लड्न नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले ३५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्