काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँग छलफल गर्दैछन्। भदौमा हुने १४औं महाधिवेशनको लागि उम्मेदवार बन्ने तयारी गरिरहेका देउवा आइतबार (आज) बिहानैदेखि आफूनिकटका नेताहरुसँग छलफलमा छन्। कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंकाअनुसार अहिले पनि छलफल जारी छ। भने- ‘छलफल हुँदैछ। खासगरी १४औं महाधिवेशनकै तयारीस्वरुप उहाँले नेताहरुलाई बोलाउनुभएको हो।’
देउवाले आफूनिकटका नेताहरुलाई आफ्नो निवास बुटानिलकण्ठ बोलाउँदै आएका छन्। यसअघि शनिवार देउवाले प्रदेश नं. २ का नेताहरुसँग छलफल गरेको थिए। भेटघाटका क्रममा देउवाले आफू उम्मेदवार बन्ने र आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। आज बिहान नेताहरुसँग छलफल गरेपछि पुनः दिउँसो ३ बजेबाट अरु नेताहरुसँग छलफल गर्दैछन्।
आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेशनका लागि सभापतिको आकांक्षा धेरैजना छन्। नेता विमलेन्द्र निधिले पनि यसअघि नै आफू उम्मेदवार बन्ने र आफूलाई सहयोग गर्न भनिसकेका छन्। यस्तै यता वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको अकांक्षी छन्।



लोकपाटी न्यूज

