विपक्षी गठबन्धन थप कसिलाे बनाउने काङ्ग्रेस केन्द्रिय कार्यसमितिकाे बैठककाे निर्णय

nepali-congress-meeting
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने निर्णय गरेको छ। विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ। बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस्। संविधानको रक्षा होस्। र त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहनुुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं।’

संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतले जानकारी दिए। वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ। लोकतन्त्रमा र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समुहहरुलाई जोड्दै एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ,’ महत भन्छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पाँच वटा घटक एक ठाउँमा आएको अवस्था छ। काँग्रेस, माओवादी, राजमो, माधव, उपेन्द्र पक्षबीच गठबन्धन बनेको छ। सोही गठबन्धनको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित देउवाले सरकारमा दाबी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतको आधार नदेखिएको जिकिर गर्दै दाबी खारेजी गरेकी थिइन्। राष्ट्रपतिको निर्णयपछि सरकार बन्न नसकेर संसद विघटन भइ आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरिएको छ। तर सो निर्णय उपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। गठबन्धनका तर्फबाट १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका छन्।