काठमाडाैँ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन प्रविधिको प्रयोग गरेरै भएपनि सम्पन्न गरिने बताएका छन्। शर्माले भौतिक र भर्चुअल पद्धतिको फ्युजन गरेर महाधिवेशन गर्ने तयारीमा पार्टी रहेको बताएका हुन्।
काँग्रेस झापाले बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वडादेखि जिल्लासम्मको भौतिक र प्रदेश तथा केन्द्रको अधिवेशन प्रविधिको प्रयोग गरेर गर्न सकिने बताए। गृहजिल्ला झापामा रहेका प्रवक्ता शर्माले काठमाडौँ फर्किएपछि यो विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिए।
जिल्लाका नेता तथा कार्यकर्ताले समयमा नै महाधिवेशन हुन नसक्ने चिन्ता ब्यक्त गरेपछि प्रवक्ता शर्माले काँग्रेस संवैधानिक बाध्यताबाट पछि नहटी राजनीतिक जिम्मेवारी पूरा गर्नेमा दृढ रहेको र हर हालतमा पार्टीको महाधिवेशन हुने बताए। प्रवक्ता शर्माले पार्टीलाई आधुनिक बनाउन र प्रविधिगत रूपमा रुपान्तरण गर्न प्रविधिको प्रयोग गरेर महाधिवेशन गरिने बताए। उनले प्रविधिमार्फत पार्टीको तथ्याङ्क राख्ने कुरामा काँग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दाबी गरे।



लोकपाटी न्यूज

