काठमाडौं। नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी समूहभित्र असन्तोष छताछुल्ल हुन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरू छुटेपछि असन्तोष बढेको हो।
अध्यक्ष ओलीले बादललाई मात्रै काखी च्यापेर अगाडि बढ्न खोजेको कतिपय नेताहरूको गुनासो छ। मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले पूर्व माओवादी समूहका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा ओलीले आफ्नो अप्ठ्याराहरूबारे जानकारी गराएका थिए। उक्त छलफलमा पूर्व माओवादी समूहले कम्तीमा पनि पाँच मन्त्रालयको माग गरेको थियो। त्यसमा पनि तीन फूलमन्त्री र दुई राज्यमन्त्रीमा पूर्व माओवादी समूहले सहमति गरेको थियो।
त्यसपछि थप छलफल गर्ने जिम्मा उक्त समूहले बादललाई नै दिएको थियो। तर, बादलले प्रधानमन्त्री ओलीसँग आफ्नी श्रीमतीसहित दुई त्यो मन्त्रिपरिषदमा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरियो। तर, यो सिफारिसमा पूर्व माओवादी समूह पूर्ण असन्तुष्ट बनेर बादललाई असहयोग गर्ने नीति लिएको छ। श्रीमतीलाई मन्त्री सिफारिस गरेपछि बादल आफ्ना समूहका नेताहरूको सम्पर्कमा छैनन्।
पूर्वमाओवादी खेमाको नेतृत्व गर्न रामबहादुर थापा (बादल) असफल भएको उनीहरूको ठहर छ। बादलले आफ्नै श्रीमतीलाई आकर्षक मन्त्रालयमा पठाएपछि केही साताअघि सर्वोच्चको आदेशबाट मन्त्री पद गुमाएर पुनः नियुक्तिको आसमा मन्त्री निवास पुलचोकमै बसिरहेका नेताहरू जिल्ल परेका छन्। ‘मन्त्रिपरिषद् विस्तार गर्दा बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाए। त्यसमा अलिकति असन्तुष्टि छ। अरू पठाइदिएको भए हुन्थ्यो भन्ने खालको छ।’
बादलले आफ्नो समूहको नेतृत्व गर्न नसक्ने निष्कर्षमा पुगेका पूर्वमाओवादीहरू अब उनलाई नेता नमान्ने भन्दै नयाँ नेताको खोजीमा लागेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एक्ला एक्लै डिल गरेर आफ्नो पक्षमा ल्याएको भए पनि ओलीले बादलमार्फत पूर्वमाओवादी समूहसँग डिल गर्न खोजेको यो खेमाको बुझाइ छ।
तर, माओवादी पृष्ठभूमिका अधिकांश नेताहरूले बादललाई नेतृत्व मानेर अध्यक्ष ओलीसँग डिल गर्ने प्रस्ताव अस्वीकार गरेको स्रोत बताउँछ। मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा बादलले एकलौटी गरेकाले पनि उनको नेतृत्वमा ओलीसँग सामूहिक डिल गर्न अब सम्भव नभएको उनीहरूले बताउन थालेका छन्।
नेता टोपबहादुर रायमाझी आफूहरू बादलको नेतृत्वमा एमालेमा नगएको बताउँछन्। ‘हामी एउटै पृष्ठभूमिबाट आयौं। तर, अध्यक्ष ओलीको पक्षमा अगाडि-पछाडि गइयो,’ रायमाझी भन्छन्। अब एमालेभित्र आफूहरूको पृष्ठभूमिका हिसाबले मात्रै नभई पार्टी नेताको हिसाबले डिल हुने उनको भनाइ छ।
माओवादीबाट एमालेमा गएका नेताहरू पहिले कहिल्यै पनि बादलको पक्षमा नभएका कारण पनि बादललाई नेता मान्न अप्ठेरो भइरहेको छ। माओवादीमा रहँदा टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह लामो समयसम्म बाबुराम समूहमा थिए जसले कहिल्यै बादललाई नेता मान्न सकेनन्। लेखराज भट्ट लामो समय प्रचण्ड नजिक थिए जसले माओवादीभित्रका थुप्रै उतारचढावमा कहिल्यै बादललाई साथ दिएनन्।
यो खेमाका एक पूर्वमन्त्री भन्छन्, ‘बादल हाम्रा नेता कहिल्यै थिएनन्, हामी उनको पछि लागेर एमालेमा आएको पनि होइन, अनि किन बादलमार्फत ओलीसँग डिल गर्ने ?’



लोकपाटी न्यूज

