काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्। मङ्गलवार पठाएको पत्रमा शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्।
उनले अहिलेको समय संवेदनशील भएकोले सोचेर चल्न मुख्यमन्त्री पोखरेललाई सुझाव दिएका छन्। शर्माले आलोचित हुन एक भ्रम काफी भएकोले सही निर्णय गर्नसमेत सचेत गराएका छन्। ‘समय संवेदनशील छ, राम्रो साबित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ,’ शर्माले भनेका छन्।
उनले अगाडि थपे, ‘त्यसैले ‘छाया’ को होइन ‘ऐना’ को सुझाव लिनोस्। हेक्का रहोस् तपाईँको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ। तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नोस्।’ यस्तो छ पत्र:
बधाई तथा शुभकामनासहित संक्षिप्त सुझाव
अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।
यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्।
समय संवेदनशील छ। राम्रो साबित हुन धेरै राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्। हेक्का रहोस् तपाईँको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।
तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्।
प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस्। तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस्। राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ।
गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्। सही निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्। -विश्वप्रकाश शर्मा



लोकपाटी न्यूज

