काठमाडौं। नेपालको शेयर बजारमा नेप्सेले सोमवार कीर्तिमानी उचाइ कायम गरेको छ।
यो दिन शेयर कारोबार मापक नेप्से परिसूचक यो समाचार तयार पार्दासम्ममा ३ हजार ३८ दशमलव शून्य ९ विन्दुमा पुगेर कीर्तिमानी रेकर्ड कायम भएको हो।
गत बिहीवार १ दशमलव ८० अंकले घटेर २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ९८३ दशमलव ११ विन्दुमा पुगेको थियो। उक्त दिन नेप्से परिसूचक १ दशमलव ३० प्रतिशत अर्थात् ३८ दशमलव ३२ अंकले बढेको थियो। आइतवार कायम भएको उच्च विन्दुलाई सोमवार नेप्सेले फेरि ब्रेक गरेको हो। उक्त अवधिसम्ममा कारोबार पनि ४ खर्बभन्दा बढी भइसकेको छ। केहि समयदेखि कारोबार रकम पनि दैनिक रुपमा वृद्धि हुँदै गइरहेको छ।
डेढ महीनादेखि जारी निषेधाज्ञाका कारण अन्य व्यवसायिक क्षेत्र बन्द रहँदा शेयर बजारमा भने सबै क्षेत्रको लगानी भित्रिएको देखिएको छ।दैनिक बजारमा लगानी बढ्दै जाँदा बजारको स्वच्छता एवम् पारदर्शितातर्फ पनि सरोकारवाला निकायहरुले ध्यान दिन आवश्यक रहेको बताएका छन्। आइतवार कारोबार रकम १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको थियो। पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।



लोकपाटी न्यूज
