काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको साधारण सदस्यसमेत नरहेका अनिल परियारले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनधिकृत काम नगर्न जसपाले सचेत गराउँदै चेतावनी दिएको छ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार प्रेस विज्ञप्ति जारी गरी शनिबार पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै जसपाका तर्फबाट प्रदेश प्रमुखलाई लेखिएको भनिएको पत्र फर्जी रहेको बताएका हुन्। जसपाको गण्डकी प्रदेश समितिको अध्यक्ष मोदी रिजाल रहेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।
भविष्यमा फर्जी र जालसाजी कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको भागीदार हुनुपर्ने चेतावनी अधिकारीले दिएका छन्। ‘अनिल परियार जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं। जनता समाजवादी पार्टी, नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल रहनु भएको छ। हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो’, विज्ञप्तिमा भनिएको छ।
जसपा कुनै पनि प्रकारको प्रतिगमनकारी र लोकतन्त्र मास्ने कार्यको विपक्षमा रहने विज्ञप्तिमा उल्लेख छ। जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष गण्डकी सरकारमा गएको छ। हरिशरण आचार्य विनाविभागीय मन्त्री छन्। तर प्रदेश प्रमुख सीता पौडेलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्दा एकल दाबी परेको उल्लेख गरेकी थिइन्।




लोकपाटी न्यूज

