बुटवल। लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।
त्यससँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि बाटो खुलेको छ।विपक्षी दलहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै टिप्पणी गर्दै आएका थिए। प्रदेशको आगामी आर्थिक वर्षको बजेट असार १ गते सार्वजनिक हुँदैछ।
बिहानै जसपाले आफ्ना सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न अनुरोध गरेको थियो। जसपाका ६ मध्ये चार जनाले नीति तथा कार्यक्रमको पक्षमा समर्थन गरेका छन्। सत्तारुढ एमालेका ३८ जनाले समर्थन गरेका हुन्।
प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा छन्। विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेको समयमा आइतबार बहुमतले पास भएको हो।
प्रदेशसभामा सभामुख घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले समय मागेका थिए । तर, घर्तीले कानुन बमोजिम यसलाई अगाडि बढाउने भन्दै नीति तथा कार्यक्रम पेश गरेका थिए। उनले दलीय विषयमा चित्त नबुझे बाँकी समयमा छलफल गर्न सकिने बताएका थिए।
यसअघि मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दलले सरकारको वैधानिकताका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै प्रदेशसभामा सरकारलाई कानुनी रुपमा वैधताको कुनै अड्चन नभएको बताएका थिए। एमाले र जसपाका केही सांसदको विषयमा अदालती टुंगो लागेपछि सबै दलको कानुनी अड्चन हट्ने र यसले निर्णय लिने उनको भनाइ थियो।



लोकपाटी न्यूज
