गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले आजै मन्त्रिपरिषद विस्तार गर्ने, मनाङ्गे पनि मन्त्री बन्दै

लोकपाटी न्यूज

काठमाडौँ। गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। जसपाका हरिशरण आचार्य, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मुख्यमन्त्री पोखरेलले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। मन्त्रालयको भने टुंगो लागेको छैन।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल शनिवार नियुक्त भएका हुन्। लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए।

उनी ३१ जना नै सशरीर प्रदेश प्रमुखकहाँ पुगेका थिए। उनलाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेका छन्। प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन्। तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्