पोखरा। गण्डकी प्रदेशमा नेकपा एमालेकै सांसदले विद्रोहको चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ।
प्रदेश प्रमुख कार्यालय स्रोतले दिएको जानकारीअनुसार त्यसको तयारी गरिएको छ। बहुमत सदस्य गेटमा धर्नामा बसेर विरोध जनाएका थिए भने नेकपा एमालेका सांसदहरुले पनि विघटन हुने अवस्था आएमा आफूहरुले विद्रोह गर्ने चेतावनी दिएका थिए।
लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए।
कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा सरकार गठनमा दाबी पेश गरेपछि षड्यन्त्र भएको भन्दै विपक्षीहरू आन्दोलित भएका थिए। विपक्षी गठबन्धनले शुक्रवार ३१ सांसद सशरीर उपस्थित भई सामूहिक हस्ताक्षर बुझाएका थिए। जसमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ तथा स्वतन्त्र १ सांसदसहित बहुमत अर्थात् ३१ सदस्यको समर्थन थियो। गण्डकीमा ६० सांसद छन्।
मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत ल्याउन नसकेपछि उनी बिहीवार स्वतः पदमुक्त भएका थिए। उनको पक्षमा नेकपा एमालेका २७ जनाले मतदान गरेकोमा विपक्षमा ३० मत थियो। विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ जनाले मतदान गरेका थिए। जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे संसदमै आएका थिएनन्।



लोकपाटी न्यूज

