काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले यस्तो बताएका हुन्।
उनले देशी विदेशी शक्ति यसमा लागिपरेको बताए। ‘संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्,’ उनले भने, ‘सचेत भएर अघि बढ्न सकेनौं भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ।’ उनले पटक पटक भइरहेको संसद् विघटन पनि त्यसैको तयारी भएको बताए।
‘पटक पटक संसद् विघटन गरियो,’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ। त्यसमा खेल्ने ग्र्यान्ड डिजाइन भइरहेको छ।’ भट्टराईले जसपाबाट चोइटिएर गएका समूहका कारण मधेस आन्दोलनमा धोका हुने पनि बताए।
‘निहित व्यक्तिको स्वार्थका कारण यति बेला मधेस आन्दोलन संकटमा परेको छ। सरकारमा गएका मधेसी नेताहरूले हिसाबकिताब दिनुपर्नेछ,’ उनले भने।



लोकपाटी न्यूज

