नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत : ठाकुर

Mahanta-Thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने बताएका छन्। पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सर्वोच्च अदालतले अध्यादेशको कार्यान्वयन रोक्नु गलत भएको टिप्पणी गरेका हुन्।

‘३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसद्मा अड्किएको थियो। संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय नै गर्न सकेन,’ ठाकुरले भने, ‘नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।’

उनले नवनियुक्त मन्त्रीहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए। उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। देशको समृद्धि विकास र जनताको अधिकारका निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए।

उद्योगमन्त्री यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म जिम्मेवारी निर्वाह गर्ने बताए। सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्देश्य प्राप्त गर्न केन्द्रित हुने उनले बताए। उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए। उनले आफू सामूहिक रूपमा काम गर्न प्रतिबद्ध रहेको पनि बताए।