काठमाडौं। नेकपा (एमाले)का नेता एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले माधवकुमार नेपाल-झलनाथ खनाल समूह एकताको पक्षमा नहरेको बताएका छन्। उनले नेपाल-खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताए।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई नेपाल-खनाल समूहले अस्वीकार गर्नु भनेको उनीहरू पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको पाैडेलले बताए। अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने पनि बताए।
पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल-खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको पाैडेलको ठहर छ। यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर, पार्टी विभाजन हुन नसक्ने उनले जिकिर गरे। संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने उनको भनाइ छ।
नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने पाैडेलले तर्क गरे।



लोकपाटी न्यूज

