काठमाडौं। गण्डकी प्रदेशको सत्तासंघर्षमा एकमात्र स्वतन्त्र सांसद निर्णायक बनेका छन्। उनि हुन् दिपक मनाङे ।
कुनैबेला ग्याङस्टरका रुपमा कहलिएका मनाङे पटक पटक जेल समेत परेका थिए। काठमाडौंमा निकै परिचित मनाङेले मनाङ ख बाट प्रदेश सभाको चुनाव जितेर स्वतन्त्र सांसद बनेका थिए। एमालेमा सक्रिय उनको हैसियत भने स्वतन्त्र सांसदकै छ।
गण्डकीमा मनाङे निर्णायक शक्ति बनेपछि दुईपटक मन्त्री भइसकेका छन्। उनी फेरि सत्ता परिवर्तन भएमा मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। उनले गण्डकीमा हुने सत्ता राजनीतिमा समर्थन परिवर्तन गर्ने संकेत गरिसकेका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आज विश्वासको मत लिन लागेका छन्। तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ। कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ। गुरुङले २८ या २९ मत मात्र प्राप्त गर्न सक्ने सम्भावना छ।नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन्। मुख्यमन्त्री गुरुङ्गले एमालेको २७, राजमोको १ र स्वतन्त्रको १ गरी २९ मत अधिकतम पाउने सम्भावना छ। उनले विश्वासको मत लिने माओवादी, काँग्रेस, जसपा या राजमोबाट फ्लोर क्रस हुनुपर्छ। राजमोबाट १ मत मात्र फ्लोर क्रस हुने देखिएको छ। त्यसकारण पनि गुरुङ्ग विश्वासको मत लिन असफल हुनेछन्।
विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुखले बहुमतको सरकारको आव्हान गर्नेछिन्। त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ। नेपालीले बहुमतको दाबी सिद्ध गर्न काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन आवश्यक हुन्छ। सभामुखले राजीनामा दिएर बढेमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ। तर, मनाङेको साथ लिने प्रयास चलिसकेको छ। उनले साथ दिएमा नेपाली मुख्यमन्त्री बन्नेछन्। यसकारण पनि दिपक मनाङे गण्डकी प्रदेशमा निर्णायक शक्ति बनेका छन्।



लोकपाटी न्यूज

