देउवा र प्रचण्डलाई नेपालले भने : रिटबाट हस्ताक्षर फिर्ता लिन्नौं, ढुक्क हुनुहोस्

prachanda_Nepal_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार साँझ छलफल भएको छ। छलफलका लागि प्रचण्ड र नेपाल देउवानिवास बुढानीलकण्ठ पुगेका थिए। स्थायी समितिका नेताहरूसँगको भर्चुअल छलफलपछि नेपाल बुढानीलकण्ठ पुगेका हुन्।

भेटमा शीर्ष तीन नेताबीच प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरका विषयमा छलफल भएको बुझिएको छ। स्रोतका अनुसार नेपालले आफ्नो समूहले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ताको नलिने जानकारी देउवालाई गराएका थिए। उनले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष आफूहरूले निष्कर्ष निकालेको पनि बताएका थिए।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सर्वोच्चमा दर्ता गरेको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनु पर्ने प्रस्ताव अघि सारेपछि सोमबार बिहान नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल भएको थियो। भेटमा अध्यक्ष प्रचण्डले नेता नेपालसँग हस्ताक्षर फिर्ताको मागबारेमा धारणा बुझेका थिए।

नेता नेपालले यो विषय नैतिकतासँग जोडिएकाले हस्ताक्षर फिर्ताको माग पूरा नहुने जवाफ दिएको उनको सचिवालयले बताएको छ। ‘हामीले संविधान र संसद् दुवैको रक्षाका लागि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका हौं। हाम्रो यो कदम नैतिकतासँग पनि जोडिएकाले फिर्ता लिने पक्षमा छैनौं,’ उनको जवाफ थियो।