ओलीसामु नेपाल पक्ष राख्दै संसद विघटन फिर्ताको शर्त

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीले राखेको ६ बुँदे प्रस्तावको जवाफका साथै एकताका आधार अघि सार्ने तयारी गरेको छ। सोमबार बसेको स्थायी समिति बैठकको भर्चुअल बैठकले ओलीले राखेका ६ बुँदे प्रस्तावको जवाफसहित थप शर्त पनि अघि सार्ने निष्कर्ष निकालेको बताइएको छ।

केही नेताहरूलाई उक्त कार्यका लागि जिम्मासमेत दिइएको छ। बैठकमा सहभागी एक नेताका अनुसार पहिलो नम्बर बुँदा, दोस्रो नम्बरको ‘मूलभूत’ भन्ने भाषा, सर्वोच्चको रिटमा गरिएका हस्ताक्षरका विषयमा जवाफ दिइनेछ। प्रस्ताव सच्याउन र आफूले राख्ने शर्तहरू मान्न तयार भएमा वार्ता अघि बढ्नेछ।

अध्यक्ष ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटबाट एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघिसारेपछि नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटन फिर्ताको अडान लिने नेता बेदुराम भुसालले बताए। उनले ओलीलाई लिखितरुपमा दिने जवाफमा उक्त सर्त अघि सार्ने तयारी रहेको बताए।

‘हामीलाई केपी कमरेडले सर्वोच्चमा देउवाजीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भन्नुभएको छ। अब कसरी त्यो हस्ताक्षर फिर्ता लिन सकिन्छ?,’ भुसालले भने, ‘हामीले गरेको हस्ताक्षर फिर्ता लिए केपी कमरेडले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर फिर्ता लिनुपर्छ। तब मात्रै फिर्ता लिन्छौं।’

ओलीले प्रतिनिधिसभा विघटन गर्नु गल्ती भएको भन्दै फिर्ता लिए आफूहरूलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए। नेपाल पक्षले लिखित जवाफ केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।